सातै प्रदेशको बजेट आउँदै, कुन प्रदेशको कति?

सातै प्रदेश सरकारले आइतबार बजेट सार्वजनिक गर्दैछन्। अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने व्यवस्था भएअनुसार प्रदेशहरूले बजेट सार्वजनिक गर्न लागेका हुन्।

चालु आर्थिक वर्षमा २२ प्रतिशतमात्रै बजेट खर्च गरेका सबै प्रदेशले बढाएर बजेट ल्याउने तयारी गरेका छन्। प्रदेशहरूको पहिलो बजेटको खर्चको अवस्था निराशाजनक छ। प्रदेश १ ले चालु आर्थिक वर्षको जति नै आकारमा बजेट ल्याउने तयारी गरेको छ भने प्रदेश ३ ले करिब १५ अर्ब रुपैयाँ बढाएर बजेट सार्वजनिक गर्ने तयारी गरेको छ। प्रदेश १ ले गत वर्ष पहिलो बजेट ३५ अर्ब ९३ करोड सार्वजनिक गरेको थियो। यसवर्ष करिब ३६ अर्ब ल्याउने तयारी भइरहेको प्रदेश योजना आयोगले जनाएको छ।

चालु आर्थिक वर्षका लागि २९ अर्बको बजेट ल्याएको प्रदेश २ ले आगामी वर्षका लागि ३२ देखि ३४ अर्ब रुपैयाँसम्मको बजेट ल्याउने गृहकार्य गरेको छ। चालु आर्थिक वर्षको तुलनामा सबैभन्दा बढी बजेट प्रदेश ३ ले ल्याउने तयारी गरेको छ।

पहिलो बजेट ३५ अर्ब ६१ करोड ल्याएको प्रदेश ३ ले आगामी आर्थिक वर्षका लागि करिब ५० अर्ब बजेट ल्याउने तयारी गरेको छ। गण्डकी प्रदेशले आगामी आर्थिक वर्षका लागि करिब ६ अर्बले वृद्धि गरी करिब ३० अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ।

पहिलो वर्ष २८ अर्बको बजेट ल्याएको प्रदेश ५ ले करिब ३५ अर्बको बजेट ल्याउने तयारी गरेको हो। कर्णाली प्रदेशले ३० देखि ३२ अर्ब र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशले २९ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ।

सम्वन्धित समाचार

Leave a Comment