प्रदेश नं. ५ लाई सडक मानवमुक्त प्रदेश बनाउने : मन्त्री बराल

बुटवल, ११ जेठ 

प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेश नं. ५ लाई सडक मानवमुक्त प्रदेश बनाउने अभियानमा प्रदेश सरकार लागि परेको बताएका छन् ।

शनिबार मानव सेवा आश्रम बुटवल शाखाको उद्घाटन गर्दै मन्त्री बरालले एक छाक खान नपाएर सडकमा आउनुपर्ने बाध्यताको अन्त्य गर्दै सडक मानवमुक्त प्रदेश निर्माणमा सरकार लागेको उनले बताए । उनले मानव सेवा आश्रमको सहकार्यले आश्रमले परिकल्पना गरेको सडक मानवमुक्त देश अभियानमा समेत साथ दिने बताए । प्रदेश सरकारले सडक मानवमुक्तका लागि आवश्यक कार्यक्रम निती तथा कार्यक्रममा समेत समेटेको भन्दै यो अभियानमा प्रदेश सरकार लागेको उनले बताए।

उनले मानव सेवा आश्रमलाई जग्गा उपलब्ध गराउने प्रयास भइरहेको समेत बताए । सडकमा रहेका बालबालिका, अपाङगता भएका, अशक्तहरुलाई पुर्नस्थापनका लागि मानव सेवा आश्रम लागेको भन्दै स्थानिय तह संगको सहकार्यमा आश्रमलाई आवश्यक जग्गा उपलब्ध गराउने आश्वासन समेत उनले दिए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले सुन्दर बुटवल र सडकमानवमुक्त अभियानमा आश्रम संग सहकार्य गर्दै अगाडि बढेको उनले बताए । उनले आवश्यक सहयोगका लागि उपमहानगरपालिका समेत तयार भएको उनले बताए । मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले २०८२ भित्रै नेपाल देशलाई नै कोहि पनि मानिस भोकै र नाङ्गै सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवनयापन गर्न नपर्ने गरी आश्रम सेवामा लागेको बताए ।

उनले गण्डकी प्रदेशले आश्रमका लागि जग्गा समेत उपलब्ध गराएर १ अर्बको लागतमा तिर्थ धामको रुपमा आश्रम निर्माण गर्ने प्रक्रियामा अगाडि बढेको बताउँदै बुटवलमा समेत जग्गा उपलब्ध गराईदिन आग्रह गरे । हाल मानवसेवा आश्रम ६ प्रदेशमा ११ जिल्लामा १४ स्थानमा सञ्चालित छ । यसै बर्ष भित्र सात ओटै प्रदेशमा आश्रमको सेवासञ्जाल विस्तार गरी आश्रमले धमाधम घरबारविहिन, वेसाहारारहित क्षेत्र घोषणाका कार्यक्रमलाई तिब्र बनाउने उद्देश्य रहेको अध्यक्ष अधिकारीले बताए ।

सम्वन्धित समाचार

Leave a Comment